काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ।
कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि तीन वर्षको सम्झौता भएको हो।
बिहीबार भएको सम्झौतामा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरे।
सम्झौताअनुसार जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइप सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन–३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ।
गत सिजन पल्मबर कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो। यसपटक साझेदारीको स्वरूप परिवर्तन भए पनि पल्मबरले टोलीसँगको सहकार्यलाई निरन्तरता दिएको हो।
कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले गत सिजनदेखि सुरु भएको सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए। उनका अनुसार यो प्रायोजन वा व्यावसायिक साझेदारीमा मात्र सीमित नभई कर्णाली याक्सप्रतिको विश्वास र टोलीको यात्रामा साथ दिने प्रतिबद्धताको निरन्तरता हो।








