काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा खेल र अभ्यासको व्यस्त तालिकाबीच नेपाली क्रिकेटरहरूले तिहार पर्व हर्षोल्लासका साथ मनाएका छन् । प्रतियोगिताको चटारोका कारण मैदानमा व्यस्त रहेका खेलाडीहरूले लक्ष्मीपूजाका अवसरमा पूजाआजा गर्दै परिवार र आफन्तसँग खुसी साटासाट गरेका हुन् ।
काठमाडौं गुर्खाजका कप्तान करण केसी, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र चितवन राइनोजका कप्तान सोमपाल कामीले लक्ष्मीपूजा गर्दै तिहार मनाएका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनीहरूले घरमा विधिपूर्वक पूजाआजा गरी पर्व मनाएका हुन् ।
त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुल्शन झा तथा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई पनि तिहारको उत्सवमा सहभागी भएका छन् । उनीहरूले समेत सामाजिक सञ्जालमा तिहार मनाएका तस्बिर सार्वजनिक गरेका छन् ।
यतिबेला एनपीएलमा सहभागी आठवटै टोलीका खेलाडी कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । राष्ट्रिय टोलीका खेलाडीसहित स्वदेशी तथा विदेशी खेलाडीहरू प्रतियोगिताको खेल, अभ्यास र टोलीको तयारीमा व्यस्त छन् ।
प्रतियोगिताको व्यस्त तालिकाबीच लक्ष्मीपूजाका दिन भने खेलमा विश्राम दिइएको थियो । आइतबार (कात्तिक २३ गते) लक्ष्मीपूजाका कारण कुनै खेल राखिएको थिएन । यही अवसरमा खेलाडीहरूले पूजाआजा गर्दै परिवार तथा आफन्तसँग तिहारको खुसी साटेका हुन् । सोमबारदेखि प्रतियोगिताका खेल पुनः सुरु भएका छन् ।
क्रिकेटको प्रतिस्पर्धा र व्यस्तताबीच पनि खेलाडीहरूले नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिएका छन् । सामान्यतया मैदानमा बल र ब्याटसँग प्रतिस्पर्धा गरिरहेका क्रिकेटरहरू तिहारका अवसरमा भने पूजाआजा र उत्सवमा रमाएको देखिएका छन् ।












