काठमाडौँ । बिहीबारदेखि चार दिनसम्म वर्षा हुने पूर्वानुमानसँगै सुरक्षा निकायले देशभर ६४९ जोखिमपूर्ण स्थान पहिचान गरी पूर्वतयारी तीव्र बनाएका छन् ।

विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले थप सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट तालिम प्राप्त सुरक्षाकर्मीलाई यी दुई प्रदेशमा थप मद्दतका रूपमा पठाइएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।

ADVERTISEMENT

यस्तै, नदी तटीय क्षेत्रमा माइकिङ गरेर स्थानीयलाई सचेत गराउन थालिएको छ । बागमतीका रोशी, सुनकोशी, त्रिशूली र इन्द्रावती, मधेसका बलान तथा बिहुल खोलालगायतका तटीय क्षेत्रमा पूर्वसूचना दिइरहेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकाका नदी किनारमा पनि सचेतना अभियान चलाइएको छ ।

ADVERTISEMENT

सशस्त्र प्रहरी बलले मात्रै ११ हजार ७६३ जनशक्ति जोखिमपूर्ण क्षेत्रमा परिचालन गरेको छ । विपद् व्यवस्थापनको तालिम लिएका सुरक्षाकर्मीलाई प्राथमिकताका साथ खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताएका छन् ।

सम्भावित बाढी तथा डुबानको अवस्थालाई ध्यानमा राख्दै ८२ वटा र्‍याफ्ट बोट र ५३ वटा मोटरबोट तयारी अवस्थामा राखिएको छ । बोटसहित तालिम प्राप्त गोताखोर र मेडिकल टोली पनि जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिएको छ । त्यस्तै, आवश्यक परे ड्रोनमार्फत खोज तथा उद्धार गर्न सक्ने टोलीसमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

मधेस प्रदेशमा ७४ स्थान जोखिमपूर्ण पहिचान भएका छन् । कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय क्षेत्रलाई जोखिमयुक्त मानिएको छ । काठमाडौँ उपत्यकामा मात्रै ५२ स्थान जोखिमपूर्ण पहिचान गरिएको छ । मौसम असोज ११ गतेसम्म सक्रिय रहने आकलन गरिएकाले उक्त अवधिसम्म जोखिमपूर्ण क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

वर्षाका बेला नदी किनार, खोला तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षाकर्मी तथा स्थानीय प्रशासनको सूचना पालना गर्न आग्रह गरिएको छ ।