काठमाडौं । पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्डभन्दा माथि पुगेको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ।
सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरेको मापनअनुसार कोशी ब्यारेज हुँदै २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको जनाएको छ।
बहाव बढेपछि पानी व्यवस्थापनका लागि कोशी ब्यारेजका मुख्य ५२ र नहरका ४ गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
नदीमा पानीको सतह बढेर जोखिमको अवस्था सिर्जना हुन थालेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बालिएको तथा रातो झण्डा फहराइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोशीको जलसतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ। नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सतर्कता अपनाउन र नदी किनारमा अनावश्यक गतिविधि नगर्न आग्रह गरिएको छ।
लगातार वर्षा भइरहेकाले सप्तकोशीमा पानीको बहाव अझ बढ्न सक्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकायले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र जोखिमको अवस्थामा तत्काल सतर्क हुन आग्रह गरेका छन्।






