काठमाडौं । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने तल्लो तटीय क्षेत्र कालिगण्डकी दोभानसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति ८ः४० बजे सूचना जारी गरी किम्रुङ खोला थुनिएकाले बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार, जिल्ला प्रशासन कार्यालय, पर्वतले किम्रुङ खोला थुनिएको जानकारी दिएको छ।
पर्वतस्थित किम्रुङ खोलामा पहिरो गएको हो। यो मोदी खोलाको शाखा खोला हो। पहिरोले थुनिएको किम्रुङ खोलका कारण बाढीको जोखिम रहेको महाशाखाले कालिगण्डकी दोभानसम्मको तल्लो तटीय क्षेत्रमा पर्ने नयाँपुल, वीरेठाँटी र आसपासको बस्तीका बासिन्दालार्य सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।
‘किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म कालिगण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध छ,’ महाशाखाले भनेको छ।
यससँगै मोदी नदी करिडोरमा आवागमन नगर्न पनि महाशाखाले सचेत गराएको छ।






