४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद्मा आफ्नो आगामी भूमिका तय गर्न छलफल गर्ने भएको छ।यस विषयमा नेकपाको केन्द्रीय संयोजन समितिको बैठकमा छलफल हुने पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्। ‘संसद्भित्र हामीले खेल्दै आएको भूमिका र आगामी दिनमा संसद्मा खेल्नुपर्ने भूमिका सम्बन्धमा पनि छलफल हुनेछ,’ ज्वालाले भने।

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक आगामी मंगलबार दिउँसो १ बजे बस्दैछ। बैठकको औपचारिक एजेन्डा वितरण भइनसके पनि आन्तरिक संगठनात्मक विषय, राष्ट्रिय राजनीति, सरकारको कामकारबाही, प्राकृतिक विपद्मा सरकारको भूमिका तथा पार्टीको उपस्थितिसहित संसदीय गतिविधिबारे छलफल हुने ज्वालाले बताएका छन्।

ADVERTISEMENT

विशेषगरी रसुवामा आएको विनाशकारी बाढी लगायत प्राकृतिक विपद्पछिको अवस्थाबारे समेत बैठकमा समीक्षा हुने उनले जानकारी दिए। समसामयिक विषय र विपद्पछिको अवस्थाका सन्दर्भमा सरकारलाई आवश्यक सुझाव दिने विषयमा पनि छलफल हुने उनको भनाइ छ।

ADVERTISEMENT

संसदीय भूमिकामा पुनरावलोकन

नेकपाका नेताहरूका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीले अहिलेसम्म खेल्दै आएको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे बैठकबाट धारणा बनाइनेछ।

संघीय संसद्को आधिकारिक विवरणअनुसार ५७ सदस्यीय राष्ट्रिय सभामा नेकपाका १७ सांसद छन्। प्रतिनिधिसभामा पनि नेकपा १७ सांसदसहित चौथो ठूलो दलका रूपमा रहेको विवरण पार्टीसम्बन्धी सार्वजनिक संसदीय तथ्यांकमा उल्लेख छ।

यही संसदीय अंकगणितका बीच नेकपाले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो भूमिका कसरी अघि बढाउने भन्ने विषयलाई बैठकमा प्राथमिकताका साथ छलफल गर्न लागेको हो।बैठकपछि संसद्मा पार्टीले खेल्ने भूमिकाबारे केही निर्णय हुनसक्ने नेताहरूले बताएका छन्।