काठमाडौं । रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र १३ वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार शुक्रबार बिहान ६ वटा शव निकालिएकोमा दिउँसो थप ७ वटा शव फेला परेको हो।

फेला परेका सबै शव टनेल बाहिर निकालिसकिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र निरन्तर खोजी तथा उद्धार कार्य गरिरहेको छ।

ADVERTISEMENT

अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला परेका हुन्। बाढीपछि आयोजनामा कार्यरत ४९२ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। आयोजनामा कुल १ हजार ४३३ जना कार्यरत थिए।

ADVERTISEMENT

कोरियाली लगानीमा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीपछि ठूलो क्षति पुगेको हो।

यसैबीच त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत् आयोजनाका टनेल तथा पावर हाउस क्षेत्रमा समेत खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।