काठमाडौं । नेपाल ट्रायथलन संघले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने ट्रायथलनका दुई टेक्निकल अफिसियललाई विदाइ गरेको छ।
जापानको आइची–नागोयामा हुने एसियाली खेलकुदमा नेपालका चाहना शाह र पुष्परत्न वज्राचार्य ट्रायथलन टेक्निकल अफिसियलका रूपमा सहभागी हुनेछन्।
नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दुवैलाई शुभकामनासहित विदाइ गर्दै एसियाडजस्तो ठूलो खेलकुद प्रतियोगितामा टेक्निकल अफिसियलको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुने बताए।
यसपटकको एसियाली खेलकुदमा भने नेपाली ट्रायथलन खेलाडीले सहभागिता जनाउने छैनन्। अध्यक्ष श्रेष्ठका अनुसार ओलम्पिक विवादका कारण ट्रायथलनलाई एसियाडमा समावेश नगरिएको हो।
उनले ओलम्पिक विवादका कारण ट्रायथलनलाई एसियाडमा समावेश नगरिँदा ट्रायथलन खेलाडीलाई अन्याय भएको बताए।
आगामी एसियाली खेलकुदमा ट्रायथलनका खेल सेप्टेम्बर २० र २१ तारिखमा सञ्चालन हुनेछन्।






