काठमाडौं । जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ ।

खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई छन् । एसियाली खेलकुदकै लागि छनोट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यत्तैबाट टोलीसंग समावेश हुने छिन् । प्रशिक्षकमा प्रकाश महर्जन छन् ।

ADVERTISEMENT

एसियाड टोली बाहेक खेलाडी निमा घर्ती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसंगै चीन जानेछन् । नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीलाई युनान विश्वविद्यालयमा प्रशिक्षणमा राख्न लागिएको नेपाल उसु महासंघका महासचिव नवराज ढुंगानाले जनाएका छन् ।

ढुंगानाले तत्काललाई खेलाडी एक महिनाका लागि प्रशिक्षणमा रहने बताउँदै थप एक महिनाका लागि पनि त्यही प्रशिक्षण गराउन पहल भइरहेको बताए । उनले एसियाडमा सहभागी हुने सान्सौं खेलाडीको पनि युनानमै प्रशिक्षणका लागि प्रयास भइरहेको बताए ।

ADVERTISEMENT

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चिनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य–सचिव मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउने बताउँदै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए । उनले प्रशिक्षणका लागि सहजीकरण गरिदिएकोमा चीन सरकारलाई धन्यवाद दिदै आभार प्रकट गरे ।

कन्सुलर डोङले युनान विश्वविद्यालयले विगतमा पनि नेपालसंग खेल क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै खेलाडीले उच्चस्तरको तालिम प्राप्त गर्ने बताए ।