काठमाडौं । नेपाली गल्फर सुवास तामाङले एसियाली खेलकुदको पुरुष एकल स्ट्रोक प्लेमा २३औँ स्थान हासिल गरेका छन्।
जापानको कासुगाई कन्ट्री क्लब इस्ट कोर्समा शनिबार भएको अन्तिम १८ होलमा सुवासले इभन पार ७० खेले। चार चरणमा उनले कुल २८० स्कोर बनाए।
सुवासले पहिलो दिन इभन पार ७०, दोस्रो दिन ३ अन्डर ६७, तेस्रो दिन १ ओभर ७१ र अन्तिम दिन इभन पार ७० को प्रदर्शन गरे।
दोस्रो दिन कट पार गर्दै उनले अन्तिम ३६ होलका लागि स्थान बनाएका थिए। अन्तिम चरणमा ७० स्कोर बनाएसँगै उनी समग्रमा २३औँ स्थानमा रहे। सुवासको स्पर्धा सकिएसँगै एसियाली खेलकुदमा नेपालको चुनौती पनि समाप्त भएको छ।
आइची–नागोया एसियाली खेलकुदमा नेपालले दुई कांस्य पदक जितेको छ। करातेका तेन्जिङ शेर्पाले पुरुष ८४ केजीमाथिको कुमितेमा कांस्य जितेका थिए भने महिला कबड्डी टोलीले पनि कांस्य पदक पक्का गरेको थियो।
यससँगै नेपालले यस संस्करणको एसियाली खेलकुदमा दुई कांस्यसहित आफ्नो यात्रा टुंग्याएको छ।







