काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन्।
बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन्।
यसअघि पनि बैंकले बाढी प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लीपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत उपलब्ध गराएको थियो।
त्यसैगरी, प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको जनाएको छ।
बैंकले प्राकृतिक विपद्मा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता पनि बैंकले जनाएको छ।






