काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तारा मानन्धरले आजदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।बैंकको सञ्चालक समितिको बिहीबार बसेको ३७१औँ बैठकले मानन्धरलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। बैंकका कम्पनी सचिव डण्डापानी ढकालका अनुसार जेठ १, २०८३ देखि उनले कार्यभार सम्हालेका हुन्।
यसअघि बैंकका सीईओ रहेका प्रद्युमन पोखरेल को कार्यकाल वैशाख मसान्तसँगै सकिएपछि मानन्धरले जिम्मेवारी सम्हालेका हुन्।स्याङ्जाको हरिनास गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएका मानन्धर बैंकिङ तथा कर्पोरेट व्यवस्थापन क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्।
उनी यसअघि डिश मिडिया नेटवर्क का प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।त्यसअघि उनले दुई दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका छन्। यस अवधिमा उनले प्रभु बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लगायतका बैंक तथा वित्तीय संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
बैंकिङ क्षेत्रको दीर्घ अनुभव र व्यवस्थापकीय दक्षताका आधारमा मानन्धरको नेतृत्वमा मुक्तिनाथ विकास बैंकले नयाँ रणनीतिक उचाइ हासिल गर्ने अपेक्षा गरिएको बैंक स्रोतले जनाएको छ।








