काठमाडौँ। प्रभु बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा सुमन शर्मालाई नियुक्त गरिएको छ। बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ शर्मा आजदेखि नै आफ्नो कार्यभार सम्हाल्नेछन्।

यसअघि माघ १९ गते सञ्चालक समितिको बैठकले पूर्व सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो।

ADVERTISEMENT

सीईओ शर्मासँग बैंकिङ क्षेत्रको २० वर्षभन्दा बढी अनुभव छ। उनले यसअघि सनराइज बैंकमा सीईओको रूपमा काम गरेका थिए। त्यस्तै, ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सीईओ भएर पनि काम गरेका थिए।

ADVERTISEMENT

शर्माले नेदरल्यान्डबाट एमबीए गरेका हुन् भने त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर अध्ययन पनि गरेका छन्। उनले नेपालका वाणिज्य बैंकहरूको कर्जा जोखिम व्यवस्थापन अभ्यास, साना किसानहरूको आय वितरण तथा उपभोग खर्चको ढाँचा जस्ता विषयमा अनुसन्धान पनि गरेका छन्।