काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आगामी २४ सेप्टेम्बर अर्थात् ८ असोजमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सामान्य बहसमा सम्बोधन गर्ने जानकारी दिएका हुन्। महासभाको उच्चस्तरीय बहस २२ देखि २८ सेप्टेम्बरसम्म अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुँदैछ।
सचिव राईका अनुसार महासभामा नेपालले गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछि सम्पन्न निर्वाचन र ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछ।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको जनधनको क्षति र जलवायु न्यायको विषयलाई समेत प्राथमिकताका साथ उठाउने भएका छन्। नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय विश्व समुदायसमक्ष प्रस्तुत गरिने राईले बताए।
नेपालको वन क्षेत्र, हिमालय र नदी प्रणालीले विश्व वातावरण संरक्षणमा पुर्याएको योगदानबारे पनि महासभामा चर्चा गरिनेछ। महासभाको अवसरमा नेपालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे उच्चस्तरीय साइड इभेन्टसमेत आयोजना गर्नेछ।
यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले अति कम विकसित मुलुक, भू–परिवेष्ठित विकासोन्मुख मुलुक, असंलग्न मुलुकलगायतका विभिन्न मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।






