काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पर्ने हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

शुक्रबार बिहान करिब ७ बजे महाकुलुङ–२ स्थित गौरीशंकर हाइड्रोपावरको मुख्य कार्यालयबाट करिब १०० मिटर तल करिब ३५ मिटर अग्लो पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको हो।

ADVERTISEMENT

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

ADVERTISEMENT

प्रहरीले नदी तटीय क्षेत्रमा रहेका बस्ती तथा हुङ्गा खोलामा सञ्चालित गौरीशंकर हाइड्रोपावर, दूधकोशी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुई आयोजनालाई घटनाबारे जानकारी गराएको छ। आयोजनामा कार्यरत कर्मचारी तथा सवारीसाधनलाई सुरक्षित स्थानमा जानसमेत आग्रह गरिएको छ।

पहिरोका कारण बनेको ड्यामको ताल भरिएपछि बिहान करिब ९ः१० बजे पानी निकास हुन थालेको प्रहरीले जनाएको छ। यद्यपि, ड्यामका कारण पानीको बहावमा थप परिवर्तन आउन सक्ने भएकाले हुङ्गा खोला र दूधकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

ADVERTISEMENT

हुङ्गा खोलाको पानी महाकुलुङ–२ को बोदेल हुँदै सोताङ, थुलुङ दूधकोशी र नेचासल्यान क्षेत्र पार गरेर दूधकोशी नदीमा मिसिन्छ। त्यसपछि नदी खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने गर्छ।