बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ६:३० बजेसम्म रसुवा, नुवाकोट र सङ्खुवासभाका केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्। धादिङका दुई स्थानमा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित भएको छ। रसुवाका मुख्य राजमार्गहरू पनि बाढीका कारण प्रभावित छन्। प्रहरीले अर्को सूचना जारी नभएसम्म ती सडकमा पूर्ण रूपमा यातायात अवरुद्ध रहेको जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा छ। उक्त स्थानमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड भने बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखी र शीतलबजार क्षेत्रमा पृथ्वी लोकमार्ग पहिरोका कारण प्रभावित भएको छ। दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, कोशी प्रदेशको सङ्खुवासभास्थित मकालु गाउँपालिका–४ नेताभीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।







