काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू मातहत वा राज्य संयन्त्रमा कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाए त्यसविरुद्ध नेपाली जनताको तर्फबाट लड्ने बताएका छन्।
मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूले पाएको पदलाई सुविधाको नभई जिम्मेवारीका रूपमा लिनुपर्ने बताए।
‘त्यो परिवर्तन जसको लागि हामी लडेका थियौँ, त्यो कुर्सी जुन मलाई दिइएको छ, त्यो जिम्मेवारी हो। त्यो कुर्सीमा तपाईं नै हुनुहुन्छ भनेर सोच्नुपर्यो,’ उनले भने।
गुरुङले आफू इमानदारीका साथ काम गरिरहेको दाबी गर्दै भ्रष्टाचारप्रति कुनै पनि तहमा सम्झौता नगर्ने बताए।
‘इमानदारीका साथ छाती चौडा बनाएर, शीर उच्च बनाएर म भन्न सक्छु, एक रुपैयाँ कसैले भ्रष्टाचार गरेको थाहा भयो भने गृहमन्त्री तीन करोड नेपाली जनताको तर्फबाट लड्नेवाला छ,’ उनले भने।
गृहमन्त्रीको भनाइ गृह प्रशासनमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धताका रूपमा आएको हो। गुरुङले जेनजी आन्दोलनले खोजेको परिवर्तनलाई व्यवहारमै कार्यान्वयन गर्न आफूहरू जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएका छन्।
यसअघि पनि गुरुङले आफ्नो मातहतका कर्मचारीले घुस वा भ्रष्टाचार गरेको पाइए आफू स्वयं कारबाहीमा उत्रिने चेतावनी दिँदै आएका छन्।






