काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बाढीग्रस्त तीन जिल्लामा बीमा नम्बरबाटै स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने भएको छ।
सोमबार बसेको बोर्डको बैठकले बाढीका कारण कागजात हराएकाले स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो।
यस्तो अवस्थामा स्वास्थ्य सेवजा प्रदायक संस्थालाई उपलब्ध गराइएको ‘आईएमआईएस–युजर’ प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकीन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने निर्णय भएको बार्डका प्रवक्ता डा. पवनकुमार साहले जानकारी दिए।
त्यस्तै, रसुवा, नुवाकोट र धादिङका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा तोकिएको समयावधिसम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी र ‘क्यापिङ’ हटाउने निर्णय भएको डा. साहले बताए।
तीन जिल्लालाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।







