स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका ७३ वर्षीय कृष्णप्रसाद अर्याल र ६७ वर्षीया राधा अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
रसुवाको गोसाइँकुण्ड दर्शनका लागि जाने क्रममा भदौ १० गते उनीहरू सवार सवारीसाधन भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेको थियो। त्यसपछि दम्पती सम्पर्कविहीन भएका थिए।
परिवारले घटनास्थलदेखि विभिन्न अस्पताल तथा शव राखिएका स्थानसम्म खोजी गरे पनि उनीहरूको अवस्था पत्ता लगाउन सकेन। मोबाइल ट्र्याक गर्दा उनीहरूको अन्तिम लोकेसन टुकुचे देखिएको थियो।
दम्पतीका छोरा प्रकाश अर्याल नुवाकोटको बट्टारस्थित गरिमा विकास बैंकमा कार्यरत छन्। भदौ १० गते बिहान करिब ६ बजे काठमाडौंस्थित घरबाट गोसाइँकुण्डका लागि निस्किएका कृष्ण र राधाले बट्टारमा छोरासँग भेट गरेका थिए। प्रकाशले बिहान ८ः४५ बजे उनीहरूलाई गोसाइँकुण्डतर्फ बिदाइ गरेका थिए। त्यसको करिब आधा घण्टामै भोटेकोशीमा बाढी आएको थियो।
आठ दिनसम्म पनि कुनै खबर नआएपछि परिवारले उनीहरू जीवित नरहेको निष्कर्ष निकाल्दै पशुपति आर्यघाटमा कुशको पार्थिव शरीर बनाएर हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरेको हो।
दम्पतीका दुई छोरा छन्। एक छोरा विदेशमा छन् भने अर्का छोरा काठमाडौंमा बस्दै आएका छन्। केही वर्षयता कृष्ण–राधा छोराबुहारीसँगै काठमाडौंमा बस्दै आएका थिए।
आफन्तको शवसमेत हेर्न नपाई प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्नुपर्दा परिवार शोकमा डुबेको छ।






