काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितसम्म प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै ओलीले सरकारी कोषमार्फत राहत पठाउँदा प्रक्रियागत ढिलाइ हुनसक्ने भएकाले एमालेले सिधै पीडितसम्म राहत पुर्‍याउने बाटो रोजेको बताए।

ADVERTISEMENT

उनले सरकारी कोषमा सहयोग नगर्ने नभएको स्पष्ट पार्दै उद्धार तथा प्राथमिक राहतका काम सम्पन्न भएपछि अवस्थाअनुसार सरकारी कोषमा समेत सहयोग गर्न सकिने बताए।

ADVERTISEMENT

ओलीका अनुसार एमालेले आफ्नै स्रोत र कार्यकर्ता परिचालनमार्फत राहत संकलन तथा वितरण गरिरहेको छ। पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखे पनि राहतको कुल परिमाण अझ बढी हुने उनले बताए।

यसैबीच ओलीले विपद्को संवेदनशील समयमा एआईबाट कृत्रिम तस्वीर तथा दृश्य बनाएर प्रचार गर्ने प्रवृत्तिको आलोचना गरेका छन्।

ADVERTISEMENT

उनले हजारौँ मानिस प्रभावित भएको र ठूलो मात्रामा भौतिक संरचना क्षति भएको अवस्थामा प्रचारभन्दा उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए।

ओलीले विपद्को समयमा सबैको ध्यान र सामर्थ्य पीडितको सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिए।