काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा राज्य सञ्चालनलाई लिएर भइरहेको आलोचनाको जवाफ दिँदै आफूहरू पुरानो शैलीभन्दा फरक ढंगले काम गरिरहेको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री गुरुङले वर्षौँदेखि वास्तविक अवस्था नबुझी कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने प्रवृत्तिको परिणाम अहिले भोगिरहेको बताएका हुन्।
उनले पुरानै प्रणालीबाट फरक र उत्कृष्ट परिणामको अपेक्षा गर्ने तर आफूहरूलाई भने पुरानै शैलीमा काम गर्न दबाब दिने प्रवृत्तिप्रति आश्चर्य व्यक्त गरेका छन्। ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ,’ गुरुङले भनेका छन्।
विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको दाबी गर्दै उनले नागरिकलाई चिन्ता नगर्न आग्रह गरेका छन्। उनका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा कमान्ड सेन्टरबाट नियमित रूपमा काम भइरहेको छ।
मन्त्री गुरुङले अनलाइन माध्यमबाट हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक भइरहेको पनि बताएका छन्। डिजिटल प्रविधिको प्रयोगले प्रशासनिक काम तथा उद्धार र राहतसम्बन्धी गतिविधि टेबल पछाडि बसेर गरिने परम्परागत शैलीभन्दा छिटो र प्रभावकारी भइरहेको उनको दाबी छ।
‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु,’ आलोचकलाई जवाफ दिँदै उनले भनेका छन्।






