काठमाडौं । एक वर्षको अवधिमा साढे ३५ अर्ब रुपैयाँ बराबरको २१ लाख ८४ हजार स्मार्टफोन नेपाल भित्रिएका छन ।भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१\८२ मा ३५ अर्ब ४७ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरका २१ लाख ८४ हजार ६ सय ९४ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् ।
यसमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् २४ अर्ब ९१ करोड ३८ लाख ७० हजार रुपैयाँ बराबरका १७ लाख ५१ हजार ८ सय २३ सेट स्मार्टफोन चीनबाट आयात भएको छ । यो नेपालमा कुल स्मार्टफोन आयातको ७०.१५ हिस्सा हो ।
आर्थिक वर्ष २०८१\८२ मा चीनबाट मात्रै नेपालमा २४ अर्ब रुपैयाँ बढीको स्मार्टफोन आयात भएकोे छ । पछिल्लो समय लगातार बढ्दो डिजिटल प्रयोग र क्रियाकलापले स्मार्टफोनको माग बढाउँदै गएको छ । जसमा नेपालमा सबैभन्दा बढी स्मार्टफोन चीनबाट भित्रिएको देखिएको छ ।
नेपालको स्मार्टफोन बजारमा चिनियाँ स्मार्टफोन खपत गत आवमा मात्रै पहिलोपटक शीर्षमा रहेको होइन । यसअघिका वर्षहरुमा पनि नेपालले २५ अर्ब रुपैयाँमाथिका स्मार्टफोन आयात गर्दै आएको छ । जसमा सबैभन्दा ठूलो हिस्सा नै चिनियाँ स्मार्टफोनको हुनेगरेको तथ्यांकमा उल्लेख छ ।
चीनबाट भएको स्मार्टफोनको आयातको तथ्यांकले नेपाली बजारमा सस्ता र मध्यम मूल्यका चिनियाँ ब्रान्डहरूजस्तै शाओमी, ओप्पो, भिभो, र रियलमीको लोकप्रियता उच्च रहेको देखाउँछ ।
यी ब्रान्डहरुका १५ हजारदेखि ४० हजार रुपैयाँसम्मको मूल्यका स्मार्टफोनहरु नेपालमा उपलब्ध हुनेगरेका छन् । भन्सारको तथ्यांकअनुसार, चीनबाट आयात भएको स्मार्टफोनबाट मात्रै ४ अर्ब ६४ करोड ६७ लाख ८ हजार रुपैयाँ भन्सार राजस्व संकलन भएको छ ।
यस्तै नेपालले स्मार्टफोन आयात गर्ने दोस्रो ठूलो मुलुकको रुपमा भारत छ । नेपालले भारतबाट मात्रै गत आर्थिक वर्ष १० अर्ब ३ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरका ४ लाख २४ हजार ८ सय ४४ सेट स्मार्टफोन आयात गरेको छ । यो कुल आयातको २८.२ प्रतिशत हो ।
यस अवधिमा नेपालले भारतबाट स्मार्टफोन आयात गरेवापत १ अर्ब ८७ करोड १० लाख ४८ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । भारतबाट आयातित स्मार्टफोनमा मुख्य रूपमा माइक्रोम्याक्स, लावा, र कार्बनजस्ता सस्ता ब्रान्डहरू रहेका छन् ।
गत आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकाबाट १४ करोड रुपैयाँ बराबरका १ हजार २ सय ५९ सेट, संयुक्त अरब इमिरेट्सबाट १२ करोड रुपैयाँ बराबरका १ हजार १ सय ४१ सेट र अष्ट्रेलियाबाट ८ करोड १७ लाख रुपैयाँ बराबरका ६ सय ३५ सेट स्मार्टफोन आयात भएका छन् ।







