काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा नेपालले दुई खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँको निर्यात गरेको छ ।

नेपालको वार्षिक निर्यात तीन वर्षअघि दुई खर्ब कटे पनि एकै वर्ष निर्यातबाट झन्डै पौने तीन खर्ब रुपैयाँ आम्दानी भएको यो पहिलो हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातमा ऐतिहासिक रेकर्ड कायम भए पनि मूल्य अभिवृद्धिजन्य वस्तुको निकासी वृद्धिदर खासै उत्साहजनक छैन । बरु तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भारत निकासी भएको भटमासको तेलसहित सनफ्लावर तेल र पाम तेलको निर्यात अस्वाभाविक रुपमा वृद्धि हुँदा निकासी व्याापार बढेको हो ।

कूल दुई खर्ब ७७ अर्बको निकासीमा ४३.८६ प्रतिशत अर्थात् एक खर्ब २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको खानेतेल निकासी भएको छ । यसमध्ये भटमासको तेलको निकासी मात्र खर्ब नाघेको छ । एक वर्षमा एक खर्ब ६ अर्ब ७९ करोडको भटमासको तेल निकासी हुँदा १२ अर्ब ३२ करोडको सनफ्लावर तेल निकासी भएको छ ।

नेपालको वैदेशिक व्यापारघाटा १५ खर्ब २७ अर्ब पुगेको छ । वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनमा एक खर्बभन्दा बढीले वृद्धि भएको हो ।

नेपालको वैदेशिक व्यापार घाटा ०८०–८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१–८२ मा १५ खर्ब २७ अर्ब ब्यापार घाटा व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा यो व्यापारघाटा ६ प्रतिशतले बढेको हो । नेपालले खासगरी, भारत, चीन लगायतका देशहरूसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ ।