काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह–प्रा.डा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. भरत खत्रीले सपथ लिएका हुन् ।

प्रधानमन्त्री ओलीले स्वच्छ र पारदर्शीरु पमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी शुभकामना दिएका थिए । मंगलबार प्रधानमन्त्री ओलीले चारवटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गरेका थिए । त्यसका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विकास देवकोटा र आरपी बिच्छा सदस्य रहेको छनोट सिफारिस समिति गठन भएको थियो ।

कांग्रेस र एमालेले दुई दुईवटा प्रतिष्ठानमा भागबन्डा गरेका छन् । जसमा पाटन र पोखरा एमाले तथा बिपी र कर्णाली कांग्रेसको भागमा परेको छ ।