काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि उनले तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक बजेटको आन्तरिक तथा बाह्य स्रोतबाट सुनिश्चितता भइसकेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले राष्ट्रिय संकटको समयमा सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिनु सकारात्मक पक्ष भएको बताए। विपद्को सामना गर्न सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबै एकीकृत भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार घटनालगत्तै विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको छ। यस्तै, चीन, भारत, जापान, एसियाली विकास बैंक (एडीबी) तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले बताए।
चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ सुरक्षित रहेको बताए।
तत्काल उद्धार तथा राहत कार्यमा स्रोतको कमी हुन नदिने स्पष्ट पार्दै उनले उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा परिचालन गरिने बताए।
वाग्लेले २०७२ सालको भूकम्पपछि गरिएको पुनर्निर्माणको अनुभवलाई आधार बनाउँदै अहिलेको विपद्पछि पनि वैज्ञानिक तथ्य, अध्ययन र प्रमाणका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गरिने बताए।







