काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षमा रहेकाले संसद्मा जनसरोकारका विषय सशक्त रूपमा उठाउन नेता तथा कार्यकर्ता सुसूचित हुनुपर्ने बताएका छन्।
आइतबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’ कार्यक्रममा बोल्दै थापाले संसदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न तथा नीतिगत विषयमा स्पष्ट हुन यस्ता छलफल आवश्यक रहेको बताए।
उनले कांग्रेसका नेता तथा कार्यकर्ताले समसामयिक र बौद्धिक विषयमा निरन्तर ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले कार्यकर्ताको जिज्ञासा र रुचि बढाउनुका साथै विभिन्न विषयमा व्यापक दृष्टिकोण बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
थापाले प्रतिपक्षका रूपमा पार्टीका निश्चित उत्तरदायित्व रहेको उल्लेख गर्दै ती जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न गम्भीर छलफल आवश्यक रहेको बताए।
कार्यक्रममा उठेका विषय तथा प्राप्त सुझावलाई संसद्मा समेत प्रस्तुत गरिने उनले जानकारी दिए।






