काठमाडौं । आर्थिक वर्ष (आ.व. )२०८१/८२ को अन्तिम त्रैमाससम्म आइपुग्दा प्रभु बैंकले उल्लेखनीय वित्तीय उपलब्धि हासिल गरेको छ। बैंकले प्रकाशित गरेको अपरिष्कृत बित्तिय प्रतिवेदनका अनुसार बैंकको खुद नाफा ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको समान अवधिको ५१ करोड ८ लाख रुपैयाँभन्दा ९६५.४१ प्रतिशत बढी हो। बैंकको सञ्चालन नाफा पनि ९९.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।
पूँजी, निक्षेप र कर्जामा वृद्धि
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँमा स्थिर रहेको छ भने जगेडा कोष ११.७८ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। बैंकले निक्षेप संकलनमा १२.१९ प्रतिशत वृद्धि गर्दै ३ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ भने ग्राहक कर्जा प्रवाहमा ४.२२ प्रतिशतको वृद्धि गर्दै २ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी घटे पनि लागतमा कटौती
बैंकको खुद ब्याज आम्दानी (Net Interest Income ) गत वर्षको ११ अर्ब ८९ करोड रुपैयाँबाट घटेर ७ अर्ब १९ करोड रुपैयाँमा सीमित रह्यो, जसमा ३९.४७ प्रतिशतको गिरावट देखियो। यद्यपि, कोषको लागत २४.४४ प्रतिशत ले घट्दा अघिल्लो आ.वा.को सोहि अवधिको ५.७७ प्रतिशतबाट ४.३६ प्रतिशतमा झरेको छ, जसले ब्याज खर्च घटाएर आउदो समयमा नाफाको आधार तयार गरेको देखिन्छ।
जोखिम र अन्य परिसूचकहरु
बैंकको निष्क्रिय कर्जा (NPL) अनुपात ४.९६ प्रतिशतमा पुगेको छ, जुन गत वर्षको ४.९४ प्रतिशतभन्दा केही बढी भए पनि तोकिएको सीमा भित्रै रहेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १३.९ प्रतिशत रहेको छ , जुन नियामकीय आवश्यकताभन्दा माथि छ । प्रतिशेयर आम्दानी (EPS) २.१७ रुपैयाँबाट बढेर २३.१२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ पुगेको छ।
आन्तरिक र बाह्य चुनौतीहरू
प्रभु बैंकका लागि आन्तरिक चुनौतीमा शाखा विस्तारसँगै बढ्दो सञ्चालन जोखिम, ब्याजबाहेकको अन्य आम्दानी स्रोतहरु विस्तारमा कठिनाइ, ह्रासग्रस्त कर्जा असुलीमा समस्या र दक्ष जनशक्ति व्यवस्थापन आदि रहेका छन् ।
बाह्य चुनौतीमा राजनीतिक अनिश्चितता, बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, साइबर सुरक्षाको जोखिम र बदलिंदो कानुनी–व्यवसायिक वातावरणसँग तालमेल राख्ने आवश्यकता प्रमुख छन्।
बैंकको रणनीति: सावधानीपूर्वक विस्तार र डिजिटलिकरण
बैंकले चुनौतीहरू सामना गर्नको लागि सावधानीपूर्वक व्यवसाय विस्तार, कर्मचारी सीप विकासका लागि तालिम, नयाँ सेवा विकास, वैकल्पिक वितरण वितरण प्रणाली मार्फत आम्दानी वृद्धि, तथा सञ्चालन, बजार र कर्जा जोखिमको प्रभावकारी व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। साथै, डिजिटलिकरणमा विशेष जोड दिँदै, अन्तराष्ट्रिय अभ्यासहरुको अध्ययनमार्फत रणनीतिक योजना निर्माण र सुरक्षित बैंकिङ अभ्यासलाई निरन्तरता दिने नीति बैंकले अघि सारेको छ।






