काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आइतबार सकिँदैछ । सुकेधाराको मिराकल पार्टी भेन्युमा शुक्रबारदेखि जारी भेलालाई शनिबार राष्ट्रिय सम्मेलनमा रुपान्तरण गरिएको छ ।

शनिबारको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता र पार्टी संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भएका थिए । जसमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्माले विभिन्न प्रतिवेदन पेस गरेका थिए ।

राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप लगाइएको छ ।

ADVERTISEMENT

पूर्वअर्थमन्त्री महतले आर्थिक नीति परिवर्तन गरी निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउनुपर्ने, कानुन सरल बनाउनुपर्ने र परियोजनाको सम्भावनाका आधारमा कर्जा उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका छन् ।

ADVERTISEMENT

नेता लेखकले सदस्यता लिनेदेखि नवीकरण र अभिलेखसम्मको काम डिजिटल प्रणालीमा लैजानुपर्ने प्रस्ताव गरेका छन्। साथै ३० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा अवसर दिनुपर्ने तथा महिला र युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

भेलामा पार्टी संरचना सुधार गर्दै विभिन्न तहमा पदाधिकारी थप्ने, केन्द्रीय समितिमा विज्ञको सहभागिता बढाउने र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव पनि अघि सारिएको छ। विशेष महाधिवेशनसम्बन्धी विवाद दोहोरिन नदिन विधानमा स्पष्ट कार्यविधि बनाउनुपर्ने प्रस्तावसमेत गरिएको छ ।

राष्ट्रिय भेलालाई विधानले नचिन्ने भएकाले इतर समूहले राष्ट्रिय सम्मेलनमा परिणत गरे पनि के कस्तो निर्णय गर्ने भन्ने टुंगो लागिसकेको छैन । सम्मेलन गरिसकेपछि एउटा नयाँ दिशा तय गर्नुपर्ने हुन्छ । तर देउवा समूहले सर्वोच्च अदालतको फैसला कुर्ने भएको छ ।

यदि आधिकारिकता आफ्नो पक्षले पाए पार्टी एकता गर्ने नभए छुट्टै दल खोल्नुपर्ने निष्कर्षमा अधिकांश देउवा समूहका नेता पुगेका छन् । कार्यकर्ता भने कांग्रेस विभाजन नहोस् भन्ने पक्षमा छन् ।