काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको हो।
अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले बढेको छ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष ८ रुपैयाँ ७१ पैसा रहेको ईपीएस गत आर्थिक वर्षमा बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको ठूलो कमीले मुख्य भूमिका खेलेको छ। अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत आवमा घटेर ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। यसमा ६९.०५ प्रतिशतको कमी आएको हो।
त्यस्तै, बैंकको निक्षेप लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा आएको छ। आधार दर पनि ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशत कायम भएको छ। फन्डिङ लागत र ब्याजदर व्यवस्थापनमा आएको सुधारले बैंकको समग्र आम्दानीमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले बढेको छ भने नेट ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानी ५१.१२ प्रतिशतले वृद्धि भएको छ।
पूँजीतर्फ पनि बैंकको स्थिति सुधारिएको छ। टायर–१ क्यापिटल एडिक्वेसी रेसियो अघिल्लो वर्षको ८.९५ प्रतिशतबाट बढेर ९.२३ प्रतिशत पुगेको छ। समग्र क्यापिटल एडिक्वेसी रेसियो भने १२.४७ प्रतिशत कायम रहेको छ।
तर, खुद नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकको वितरणयोग्य नाफा भने तुलनात्मक रूपमा कम रहेको छ। नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा आवश्यक समायोजनपछि बैंकको वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ। यसअनुसार बैंकको लाभांश क्षमता ३.३७ प्रतिशत मात्र रहेको छ।
खुद नाफा र वितरणयोग्य नाफाबीचको ठूलो अन्तर मुख्यतः नियामकीय समायोजनका कारण देखिएको हो। बैंकले डिफर्ड ट्याक्स एसेटमा ४३ करोड ३८ लाख रुपैयाँ तथा गैरबैंकिङ सम्पत्ति (एनबीए) मा २९ करोड १० लाख रुपैयाँ बराबरको समायोजन गरेको छ।
यसका अतिरिक्त इन्ट्रेस्ट रिसिभेबल, एक्चुरियल लस तथा इन्ट्रेस्ट क्यापिटलाइज्ड रिजर्भलगायतका विभिन्न नियामकीय शीर्षकमा समेत समायोजन गरिएको बैंकले जनाएको छ।
यसरी, २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरे पनि नियामकीय समायोजनपछि बैंकसँग सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ५२ करोड ३१ लाख रुपैयाँ मात्र रहेको छ।





