काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कुनै वित्तीय समस्या नरहेको स्पष्ट पारेको छ।
बैंकका वित्तीय परिसूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक र सबल रहेको भन्दै दैनिक कार्यसञ्चालनमा कुनै जटिलता नआउने केन्द्रीय बैंकले जनाएको हो।
राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफू जानकार रहेको जनाएको छ। बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको र आवश्यक कानुनी राय–सुझाव लिने काम भइरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
केन्द्रीय बैंकका अनुसार बैंकको हालको तरलता अवस्था पनि सबल छ। वित्तीय सबलताका सूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेकाले बैंकको नियमित कारोबारमा कुनै समस्या देखिएको छैन।
मुद्दा अदालतमा विचाराधीन रहेकाले मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यका आधारमा सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका विषयमा आवश्यक कदम कानुनअनुसार चालिने राष्ट्र बैंकले जनाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वैशाख २९ गते बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरेपछि राष्ट्र बैंकले पहिलोपटक बैंकको वित्तीय अवस्थाबारे औपचारिक धारणा सार्वजनिक गरेको हो। त्यसपछि बैंक अध्यक्ष तथा सञ्चालकहरूविरुद्ध पक्राउ पुर्जी जारी हुँदासमेत राष्ट्र बैंक मौन रहेको थियो।
बैंकले भने कर्जा असुलीका क्रममा राष्ट्र बैंककै निर्देशनअनुसार स्मार्ट सेलको धितोमा रहेको सम्पत्ति बिक्री गरिएको दाबी गर्दै आएको छ। सरकारले भने स्मार्ट सेल सरकारी स्वामित्वको कम्पनी भएकाले उक्त सम्पत्ति बैंकले बिक्री गर्न नमिल्ने दाबी गर्दै मुद्दा अघि बढाएको हो।





