काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।
स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गरेको अभियोगमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार बिहान पक्रेको हो।
स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परिसकेका छन् । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको थियो। उनलाई सोमबार काठमाडौं महानगरपालिका(२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको हो।
हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतः रद्द भएको थियो । उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो । तर, उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि छ ।
यही घटनामा शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए। उनीहरू पक्राउ परेपछि पाण्डे कार्यालय जान छाडेका थिए। स्रोतका अनुसार पाण्डेलाई बयान लिएर छाडिने भएको छ ।





