काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको दाङस्थित घोराही शाखा प्रमुख नवीन थापामाथि सोमबार हातपात भएको छ । कर्जाको किस्ता तिर्न फलोअप गरेको भन्दै दाङको भण्डारी सप्लायर्सका सञ्चालक उमाकान्त भण्डारीले म्यानेजर थापामाथि कुटपिट गरेका हुन् ।

बैंकका सूचना अधिकारी राजेश शर्माका अनुसार शाखा प्रमुख सोमबार कर्जा असुल गर्न ऋणीको घरमा पुग्दा कुनै पार्टीमा आबद्द केही कार्यकर्तालाई लिएर  भण्डारी सप्लायर्सका सञ्चालक उमाकान्त भण्डारीले घरबाट लछार पछार गरि हातपात तथा कुटपिट गरेका हुन्  । ‘बैंकको खराब कर्जा बढ्छ भनेर समयमै किस्ता तिर्न भनेका हौं । हामीले ऋणीलाई केही पनि भनेका छैनौं । बैंक म्यानेजर ऋणीको निवासमा पुग्दा केही समूहसहित भएर उहाँले  हातपात गर्नुभयो । यो घटनापछि बैंकका कर्मचारी त्रसित भएका छन्,’ उनले भने ।

बैंकबाट लिएको कर्जा तिर्न भनेर आग्रह गर्दा अपराध गरेको जस्तो भएको भन्दै उनले गुनासो गरे । ‘हामीले कुनै अपराध त गरेका थिएनौं । उहाँको रकम त्यति धेरै पनि थिएन ऋणको फलोअप गर्दा  एक्कासि बैंकमा आएर यस्तो आतंक मच्चाउनु भयो,’ शर्माले भने । बैंकका कर्मचारीमाथि हातपात भएको विषयमा नेपाल राष्ट्र बैंक र प्रहरीलाई जानकारी गराएको उनले बताए ।

ADVERTISEMENT

उजुरी दिए पनि प्रहरीले अहिलेसम्म दोषीलाई पक्राउ गरेको विषयमा कुनै जानकारी नआएको उनले बताए । ‘बैंकको खराब कर्जा बढ्छ भनेर हामीले ऋणीसँग फलोअपमा जाँदा कुटिनुपर्ने भएपछि कसरी बन्छ लगानीको वातावरण ? बैंकका सबै कर्मचारी चोर, फटाहा, डाँका होइनन् नि,’ उनले भने ।

ADVERTISEMENT

यसअघि गत मंसिर २५ गते ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दली दुव्र्यवहार भएको थियो । ऋणीले मोसो मात्रै नभई बैंकका कर्मचारीलाई कुटपिट गरी जुत्ताको माला लगाएका थिए । सप्तरीको रुपनी शाखाका बैंक कर्मचारी ऋण असुलीमा जाँदा उनीहरुमाथि कुटपिटपछि मोसो दलिएको थियो । यो विषयलाई लिएर नेपाल राष्ट्र बैंक, बैंकर्स एसोसिएसनलगायत संघसंस्थाले विरोध जनाएका थिए ।बारम्बार यस्तो घटना हुने भएकाले बैंकमा काम गर्ने कर्मचारीहरू आफ्नो जिउज्यानको जोखिम बढेको अनुभव गर्छन्। यसले काम गराउन अत्यन्तै कठिन बनाएको छ भनी सम्पूर्ण बैंकका उच्च तहका कर्मचारीहरू निराश देखिन्छन्।