काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले इतर पक्षको दबाब र धम्कीसँग आफू नझुक्ने कठोर सन्देश दिएका छन् । आइतबारबाट सुरु केन्द्रीय कार्यसमितिको बैठकमा उनले शेरबहादुर देउवा समूहलाई पार्टीको स्पष्ट सन्देश सुनाएका हुन् ।

थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने बताए । पार्टीका काम विधानसम्मत भएकाले डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । थापाले कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत ढंगले सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोगले पनि कानुनअनुसार नै अध्यावधिक गरेको स्मरण गरे । ‘हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ। निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ,’ उनले भने ।

पार्टीको निर्णयप्रति चित्त नबुझाएका केही व्यक्ति सर्वोच्च अदालत गएको र सुरुमा अदालतले पनि विशेष महाधिवेशनकै पक्षमा निर्णय दिएको उल्लेख गर्दै थापाले भने, ‘अहिले असन्तुष्ट पक्ष पुनरवलोकन निवेदन लिएर जानुभएको छ र अदालतले त्यसको अनुमति दिएको छ। यो न्यायिक प्रक्रियाको एउटा पाटो हो ।’

ADVERTISEMENT

थापाले अदालतको यो कदमबाट विचलित हुन नपर्ने बताउँदै कांग्रेस अब शानका साथ अदालत जाने र आफ्ना प्रमाण पेस गर्ने उल्लेख गरे । उनले थपे, ‘अदालतमा एकपटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ, हामीलाई न्यायालयप्रति विश्वास छ ।’

ADVERTISEMENT

सभापति थापाले आफू तर्साएर नतर्सिने स्पष्ट पारे । ‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्न। दबाएर म दबिन्न। फकाएर फकिन्न। विधानको सीमा थाहा छ। विधानको सीमाभित्र बस्छु। सबैलाई जोडेर लैजाने हो। चार पुस्ता छन् यो पार्टीमा,’ उनले भने, ‘नेताहरूप्रति ठूलो सम्मान छ, सबैलाई जोडेर लैजानुपर्छ, सबैसँग संवाद भइरहेको छ।’
थापाले विशेष महाधिवेशनमा भाग लिएका वा नलिएका आधारमा कसैमाथि भेदभाव नगरिने बताए। असोजमा १५ औं महाधिवेशन हुने भन्दै उनले क्रियाशील अद्यावधिकमा छुटेकालाई समेट्नेलगायत कारण वडालगायत केही तहको अधिवेशन कार्यतालिका हेरफेर हुन सक्ने बताए।

पार्टी सभापति थापाले विधानविपरीत कुनै निर्णय नगर्ने भनेकै दिन इतर पक्षले साउन २९ देखि हुने भनिएको राष्ट्रिय भेला सर्नसक्ने संकेत दिएको छ । इतर समूहका केही नेताले पूर्वसभापति देउवाले रोक्न निर्देशन दिएमा राष्ट्रिय भेला स्थगित हुने खबर बाहिर ल्याएका छन् । देउवा साउन २८ गते बैंककबाट स्वदेश फर्किंदैछन् । उनी साढे पाँच महिनाअघि उपचारका लागि सिंगापुर गएका थिए ।