काठमाडौँ — संसद्मा प्रधानमन्त्री, मन्त्री तथा रास्वपाका केही सांसदले लगाएको पोशाकलाई लिएर विवाद भइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले सबै सांसदलाई तोकिएको ड्रेस कोड पालना गर्न निर्देशन दिएका छन्।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा अनुरूपको पोशाकमा उपस्थित हुन तथा संसद् बैठकका क्रममा कालो चस्मा नलगाउन निर्देशन दिएका हुन्।
बैठकमा संसद्को गरिमा, मर्यादा र सांसदहरूको अनुशासनबारे छलफल भएको थियो। सभामुखले ड्रेस कोड र अनुशासन कार्यान्वयन गराउन सम्बन्धित दलका प्रमुख सचेतक तथा सचेतकहरूको भूमिका प्रभावकारी बनाउन पनि आग्रह गरेका छन्।
संसद्मा केही सांसदले कालो चस्मा तथा फरक शैलीका पोशाक प्रयोग गरेको विषयमा सत्तापक्ष र विपक्ष दुवैका सांसदबाट समय–समयमा प्रश्न उठ्दै आएको छ। यस्तो अवस्थामा सभामुखको निर्देशनलाई संसद्को मर्यादा कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।












