काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृतिको संरक्षण र संवर्धनमा आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा शनिबार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले साहित्य, कला र संस्कृति राष्ट्रका गहना भएकाले यसको संरक्षण तथा प्रवर्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताए।

उनले नेपाली भाषा, साहित्य, कला र संस्कृतिका कारण नेपाल विश्वमा परिचित रहेको उल्लेख गर्दै देशका प्रतिभाको खोजी, संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT

“भाषा, साहित्य नै हाम्रो पहिचान हो। हामीले हाम्रा संस्कृतिको संरक्षण गर्नुपर्छ,” सभामुख अर्यालले भने। उनले अझै उजागर हुन नसकेका प्रतिभा तथा साहित्यकारको खोजी गरी उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने धारणा व्यक्त गरे।

ADVERTISEMENT

कार्यक्रममा नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्रा.डा. गोविन्द नेपालले नेपाली साहित्यमा योगदान पुर्‍याउने स्रष्टालाई गुठीले निरन्तर सम्मान तथा पुरस्कृत गर्दै आएको जानकारी दिए। उनले नेपाली साहित्यको विकास र प्रवर्धनका लागि गुठी सक्रिय रहेको बताए।

कार्यक्रममा गुठीका कोषाध्यक्ष एवं सांसद विदुषी राणा, संरक्षक अमिरप्रताप जबरा, सल्लाहकार जानुकी राणा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रा.डा. चूडामणि बन्धुलगायतको सहभागिता थियो।

सो अवसरमा विभिन्न साहित्यिक विधामा योगदान पुर्‍याएका १० जना स्रष्टालाई नगदसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सम्मानित स्रष्टाहरूले आफूहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा पुर्‍याएको योगदानको कदर भएकोमा खुसी व्यक्त गर्दै यस्ता पुरस्कारले नयाँ पुस्तालाई नेपाली साहित्य र लोकसाहित्यतर्फ आकर्षित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।