नयाँदिल्ली । बंगलादेशकी पदच्यूत पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छन् ।

उनको घोषणासँगै बंगलादेश सरकारले भारतमा उनको सार्वजनिक राजनीतिक गतिविधिप्रति तीव्र आपत्ति जनाएको छ ।

सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनबाट आफ्नो सरकार हटाइएको दोस्रो वर्षका अवसरमा नयाँदिल्लीमा आयोजित कार्यक्रममा अडियो सन्देशमार्फत सम्बोधन गर्दै हसिनाले आफूविरुद्धको फैसला हुँदाहुँदै पनि जनताप्रतिको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किनुपर्ने बताइन् ।

ADVERTISEMENT

‘मलाई जेल हाल्न सक्छन्, मार्न पनि सक्छन् वा अन्य जे पनि हुन सक्छ, तर मैले फर्किनैपर्छ । डरले जनताप्रतिको मेरो कर्तव्य निर्धारण गर्न सक्दैन’, उनले भनेकी छन् ।

ADVERTISEMENT

हसिनाले आफ्नो दल अवामी लिगमाथिको प्रतिबन्ध हटाउन र राजनीतिक बन्दीहरूलाई रिहा गर्न पनि आग्रह गरिन् । हसिनाले आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै आएकी छन् ।

हसिनाको सम्बोधनपछि बंगलादेशको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिँदै भारतीय भूमिबाट उनी र उनका सहयोगीहरूले बंगलादेश तथा त्यहाँका जनताविरुद्ध विषाक्त अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सवकै दिन यस्तो कार्यक्रम हुनुलाई बंगलादेशको सार्वभौमसत्तामाथिको अपमान र आन्दोलनका शहीदहरूप्रतिको अनादरका रूपमा व्याख्या गरिएको छ । साथै यसले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिइएको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा सन् २०२४ मा हसिना भारत पुगेपछि उनी त्यहीँ निर्वासनमा बस्दै आएकी छन् ।