ढाका । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि सोमबार राजधानी ढाका तथा देशका विभिन्न स्थानहरूमा कडा सुरक्षा व्यवस्था लागू गरेका छन् ।
गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा छिन् ।
हसिनाको अवामी लिग पार्टीले विशेष न्यायाधिकरणलाई ‘कंगारू अदालत’ भन्दै आह्वान गरेको देशव्यापी बन्दपछि ढाका तथा अन्य ठाँउमा अर्धसैनिक सीमा रक्षक तथा प्रहरी बल तैनाथ गरिएको छ ।
अभियोजनकर्ताहरूले भारतमा रहेकी हसिना तथा पूर्वगृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेका छन् । तेस्रो अभियुक्त पूर्व प्रहरी प्रमुख राज्यको साक्षी बनेकाले उनलाई सजायको सिफारिस गरिएको छैन । यही मुद्दाको फैसला आज सोमबार सुनाइने अपेक्षा गरिएको छ ।
हसिना र पूर्व गृहमन्त्रीमाथि सन् २०२४ को जुलाई–अगस्ट महिनामा भएको विद्यार्थी आन्दोलनका क्रममा सयौँ नागरिकको हत्या गरेको आरोपमा अनुपस्थितिमै मुद्दा चलाइएको छ ।
संयुक्त राष्ट्रसंघको फेब्रुअरी रिपोर्टअनुसार घटनामा एक हजार ४०० जनासम्मको मृत्यु भएको उल्लेख छ भने अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ ।
गत हप्ताको बन्दपछि देशभर कच्चा बम विस्फोट र आगजनीका घटनामा वृद्धि भएपछि न्यायाधीकरणले सोमबारका लागि फैसला तय गरेको थियो । राजधानीमा कक्षाहरू, सार्वजनिक यातायात तथा औपचारिक गतिविधिहरूमा व्यापक अवरोध परेको थियो ।
सोमबार बिहान फैसलाको तयारी भइरहँदा अवामी लिगले पुनः बन्दको आह्वान गरेको छ र हसिनाले अडियो सन्देशमार्फत समर्थकहरूलाई ‘फैसलाबारे नर्भस नहुन’ आग्रह गरेकी छन् । चार दशक लामो राजनीतिक यात्रामा उनी कम्तीमा १९ पटक हत्याको प्रयासबाट बचेको इतिहास छ ।
यसैबीच, ढाकाका विभिन्न स्थानमा कच्चा बम विस्फोट भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यी मध्ये एक विस्फोट क्याबिनेट मन्त्रिस्तरका सल्लाहकारको निवास अगाडि भएको बताइएको छ । बढ्दो हिंसाका बीच ढाकाका प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले सवारीसाधन जलाउने वा कच्चा बम प्रहार गर्नेहरूलाई ‘देख्नेबित्तिकै गोली हान्ने’ निर्देशन जारी गरेका छन् ।






