काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनपछि देश छाडेको दुई वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा आफ्नो धारणा राखेकी छन्।
बुधबार साँझ नयाँ दिल्लीबाट फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा अडिओमार्फत सम्बोधन गर्दै हसिनाले आफू यही वर्ष डिसेम्बरमा बंगलादेश फर्किने योजना दोहोर्याइन्।
‘म आफ्ना जनतामाझ डिसेम्बरमा फर्किनेछु,’ उनले भनिन्। फर्किने मितिबारे भने उचित समयमा जानकारी दिने बताइन्।
हसिनाले आफूविरुद्ध मनगढन्ते र फर्जी मुद्दा लगाउने प्रयास हुन सक्ने दाबी गर्दै त्यसबाट नडराउने बताइन्। उनका अनुसार पछिल्ला दुई वर्षमा बंगलादेशले ठूलो तनाव र दुःख भोगेको छ।
‘यो त्यो बंगलादेश होइन, जसलाई हामीले बनाएका थियौं। यो त्यो बंगलादेश पनि होइन, जसका लागि १९७१ मा ३० लाख मानिसले बलिदान दिएका थिए,’ उनले भनिन्।
सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनबारे बोल्दै हसिनाले उक्त आन्दोलन शान्तिपूर्ण नभएको दाबी गरिन्। उनका अनुसार सरकारले वार्ता, कानुनी प्रक्रिया र धैर्यतामार्फत समस्या समाधान गर्ने प्रयास गरेको थियो।
उनले आन्दोलनका पछाडि केही संगठित समूह सक्रिय रहेको आरोप लगाउँदै विद्यार्थीका मागलाई हिंसात्मक राजनीतिक अभियानमा रूपान्तरण गरिएको दाबी गरिन्।
हसिनाले आफू देशबाट टाढा रहन बाध्य भए पनि बंगलादेशका जनतासँगको सम्बन्ध कहिल्यै नटुटेको बताउँदै उचित समयमा स्वदेश फर्किने प्रतिबद्धता दोहोर्याएकी छन्।




