काठमाण्डौ –  विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ। तर अमेरिका र इरानबीच प्रमुख विषयमा अझै गहिरो मतभेद कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दाबी गरेका छन्। सम्झौता हुन नसके इरानविरुद्ध सैन्य कारबाही हुन सक्ने चेतावनीसमेत उनले दिएका छन्।

ADVERTISEMENT

यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्थाबारे मात्रै छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्।

ADVERTISEMENT

यसैबीच इरानले हर्मुज जलमार्गमा ‘नयाँ मध्य मार्ग’ बनाउने प्रस्ताव अघि सारेको छ। प्रस्तावअनुसार समुद्री सुरक्षा, जलमार्ग व्यवस्थापन तथा आवश्यक सेवामा इरानको प्रमुख भूमिका हुनुपर्ने माग गरिएको छ।

तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत हुने बताएका छन्। उनले यस्तो कदमले विश्वका अन्य क्षेत्रका लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिएका छन्।

ADVERTISEMENT

कतारसहित केही खाडी मुलुकले भने वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। यद्यपि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को समर्थनबिना कुनै पनि सम्झौता कार्यान्वयनमा जान कठिन हुने विश्लेषण गरिएको छ।

विदेशी व्यापारिक तथा अमेरिकी नौसैनिक जहाजको आवागमन, जहाजमा रहेको सामानबारे इरानले पाउने जानकारी र अमेरिकाले लगाएका प्रतिबन्धमा हुने परिवर्तनजस्ता विषयमा भने अझै सहमति जुट्न बाँकी छ।

यसअघि हर्मुज जलमार्ग लगभग बन्द हुँदा दैनिक करिब १ करोड ५० लाख ब्यारेल कच्चा तेल विश्व बजारमा पुग्न सकेको थिएन। विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अराम्कोका अनुसार अहिले नै मार्ग पूर्ण रूपमा खुले पनि विश्व तेल भण्डार सामान्य अवस्थामा फर्किन करिब १८ महिना लाग्न सक्छ।