काठमाडौँ। अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच शनिबार रातभर चलेको वार्ता कुनै सम्झौता बिना नै टुंगिएको बताएका छन्।

अलजजिराका अनुसार सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुखलाई “उत्कृष्ट आतिथ्य”का लागि धन्यवाद व्यक्त गरे। उनले वार्तामा भएका कमजोरीहरू पाकिस्तानका कारण नभएको स्पष्ट पार्दै इस्लामावादले दुवै पक्षबीच दूरी घटाउने प्रयास गरेको बताए।

भान्सका अनुसार करिब २१ घण्टा लामो वार्तामा इरानी पक्षसँग “गम्भीर र महत्वपूर्ण छलफल” भएको थियो, जसलाई उनले सकारात्मक पक्षका रूपमा उल्लेख गरे। तर उनले कुनै ठोस सहमति नजुटेको स्वीकार गरे।

“नकारात्मक कुरा के हो भने हामी कुनै सम्झौतामा पुग्न सकेनौँ। यो अवस्था अमेरिका भन्दा इरानका लागि बढी नराम्रो हो,” उनले भने।

उनले अमेरिका आफ्ना ‘रेड लाइन’ स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र कुन विषयमा लचकता देखाउन सकिन्छ भन्ने पनि स्पष्ट पारेको बताए। “हामीले सकेसम्म स्पष्ट रूपमा आफ्ना सर्तहरू राख्यौँ, तर इरानले ती स्वीकार नगर्ने निर्णय गर्‍यो,” उनले थपे।

भान्सले वार्ताका क्रममा अमेरिकी टोलीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए। उनका अनुसार पछिल्लो २१ घण्टामा ट्रम्पसँग आधा दर्जनभन्दा बढी पटक संवाद भएको थियो।

उनले अमेरिकी टोलीले सद्भावनाका साथ वार्ता गरेको र अन्त्यमा एक स्पष्ट प्रस्ताव प्रस्तुत गरेको उल्लेख गर्दै अब उक्त प्रस्ताव इरानले स्वीकार गर्ने वा नगर्ने विषय हेर्न बाँकी रहेको बताए।