महिनौँदेखि जारी अमेरिका–इजरायल र इरानबीचको तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इजरायलले इरानमाथि नयाँ आक्रमण तत्काल नगर्ने सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै व्यापक सम्झौता हुनुपर्ने शर्तसहित आक्रमण स्थगित गरिएको बताएका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत अमेरिका इरानविरुद्ध कारबाही गर्न पूर्ण रूपमा तयार रहे पनि मध्यपूर्वका मुलुकहरूको आग्रह र क्षेत्रीय शान्तिको हितलाई ध्यानमा राख्दै आक्रमण रोक्ने निर्णय गरिएको उल्लेख गरेका छन्। उनका अनुसार प्रस्तावित सम्झौतामा हर्मुज जलमार्ग तत्काल पूर्ण रूपमा खुला गर्ने र इरानको आणविक जोखिम अन्त्य गर्ने विषय समावेश हुनुपर्नेछ। उनले इजरायल पनि यही प्रतिबद्धतामा सहभागी रहेको दाबी गरेका छन्।
यद्यपि इरानले भने ट्रम्पको दाबी अस्वीकार गरेको छ। मेहर समाचार एजेन्सीले सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी दाबीलाई ‘नयाँ झुट’ भनेको छ। इरानले आफ्नो सेना उच्च सतर्कतामा रहेको र कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको जनाएको छ। साथै, तेहरानले साउदी अरब, पाकिस्तान र टर्कीसँग क्षेत्रीय तनाव घटाउने विषयमा कूटनीतिक संवाद अघि बढाएको जनाएको छ।
यसैबीच, साउदी युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँगको टेलिफोन वार्तामा संवादमार्फत तनाव घटाउने र युद्धविरामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। हर्मुज जलमार्गमा जारी अवरोधका कारण विश्वव्यापी तेल बजारमा पुनः मूल्यवृद्धिको दबाब देखिएको छ। क्षेत्रीय सुरक्षा चुनौती कायम रहेकाले अमेरिकी दूतावासहरूले आफ्ना नागरिकलाई सतर्क रहन र आवश्यक परे क्षेत्र छोड्न तयारी अवस्थामा रहन पनि आग्रह गरेका छन्।






