धनुषा: धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट गरेको छ। सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मृतकलाई मन्दिरका पुजारीका रूपमा प्रस्तुत गरिएको विषयमा प्रहरीले त्यसको खण्डन गर्दै भ्रमपूर्ण सूचना नफैलाउन आग्रह गरेको हो।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृत अवस्थामा फेला परेका व्यक्ति कडेरी पुजारी नभएको पुष्टि गर्दै संवेदनशील घटनामा तथ्य पुष्टि नगरी समाचार तथा सूचना सम्प्रेषण नगर्न सबैसँग अनुरोध गर्नुभएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार जारी गरेको विज्ञप्तिमा पनि मन्दिर परिसरमा फेला परेको शव मन्दिरका पुजारी नभई घुमी हिँड्ने व्यक्तिको भएको उल्लेख गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार घटनाको विस्तृत अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ। उहाँले मृतक बाहिर कामकाज गर्ने र राति मन्दिरमा सुत्न आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो।
प्रहरीले घटनालाई धर्मसँग जोडेर अफवाह फैलाउने प्रयास नगर्न सबैसँग आग्रह गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार घटना विशुद्ध आपराधिक प्रकृतिको देखिएको जनाउँदै संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ।












