जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाका ४८३ भूमिहीन सुकुमवासी परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ । मिथिला नगरपालिका–६, ७, ८ र ९ का लामो समयदेखि गाउँब्लकको जमिन भोगचलन गर्दै आएका परिवारलाई लालपूर्जा प्रदान गरिएको हो ।

जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरका अनुसार आवश्यक कागजात तथा नापनक्सा प्रक्रिया पूरा गरेका भूमिहीन परिवारलाई कानुनी स्वामित्वसहित लालपूर्जा वितरण गरिएको हो ।

टोलीका प्रमुख सीयाराम साहले कार्यालयमा ६५८ जनाले लालपूर्जाका लागि निवेदन दिएको जानकारी दिँदै हालसम्म ४८३ परिवारलाई लालपूर्जा वितरण गरिएको बताए ।

ADVERTISEMENT

यसअघि पनि सो टोलीले मिथिला नगरपालिकाको वडा नं १, ६ र ७ का ६४ भूमिहीन सुकुमवासी परिवारलाई कानुनी प्रक्रिया पूरा गरी लालपूर्जा वितरण गरिसकेको थियो । गाउँब्लक क्षेत्रको जग्गा नापजाँच सम्पन्न भएपछि क्रमशः धनीपूर्जा वितरण कार्य अघि बढाइएको प्रमुख साहले जानकारी दिए ।

ADVERTISEMENT

आज आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतो तथा अन्य जनप्रतिनिधिहरूले सम्बन्धित लाभग्राहीलाई लालपूर्जा हस्तान्तरण गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मण्डलले लामो संघर्षपछि लालपूर्जा प्राप्त गर्ने परिवारलाई बधाइ दिँदै प्रक्रियाबाट छुटेका अन्य भूमिहीनलाई पनि शीघ्र कानुनी प्रक्रिया पूरा गरी धनीपूर्जा उपलब्ध गराउन आग्रह गरे। उनले स्थानीय तहका जनप्रतिनिधिलाई आपसी विवादबाट टाढा रही विकास र जनसेवामा केन्द्रित हुन सुझाव दिए ।

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले लालपूर्जा प्राप्त गरेपछि भूमिहीन नागरिकहरूले वास्तविक स्वामित्वको अनुभूति गरेको बताए। उनले “लामो समयदेखि लालपूर्जा नपाएका नागरिक आज रैतीबाट शासक बनेका छन्” भन्दै नगर विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

नापी कार्यालयका प्रमुख उमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुई नम्बर टोलीका प्रमुख सीयाराम साह, मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा नं १ का वडाध्यक्ष योगी महतो, वडा नं ५ का वडाध्यक्ष रामचन्द्र महतोलगायतले भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न लालपूर्जा वितरण महत्त्वपूर्ण कदम भएको धारणा राखे ।

नापी कार्यालयका अनुसार धनुषा जिल्लामा रहेका ७५ गाउँब्लकमध्ये ७२ वटाको नापजाँच कार्य सम्पन्न भइसकेको छ । तीमध्ये १२ गाउँब्लक क्षेत्रमा धनीपूर्जा वितरण कार्य सम्पन्न भइसकेको जनाइएको छ ।