काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न तराई जिल्लामा तातो लहरको प्रभाव रहने चेतावनी दिएको छ। विभागले तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन–४ जारी गर्दै १४ जिल्लामा तातो लहर चल्ने सम्भावना रहेको जनाएको हो।

विभागका अनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (पश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिन तातो लहरको प्रभाव रहने सम्भावना छ। यी जिल्लामा उच्च तापक्रमका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

ADVERTISEMENT

त्यसैगरी कञ्चनपुर, कैलाली, नवलपरासी (पश्चिम), चितवन, सुनसरी, मोरङ र झापामा पनि हाल कायम रहेको तातो अवस्था निरन्तर रहने अनुमान गरिएको छ। विभागले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने जनाएको छ।

विशेषगरी मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना रहेको विभागको भनाइ छ। त्यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिनको अवस्था कायम रहने अनुमान गरिएको छ।

ADVERTISEMENT

मौसमविद्हरूका अनुसार लगातार उच्च तापक्रम कायम रहँदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्छ। तातो हावा तथा तातो लहरका कारण शरीरमा पानीको कमी हुने, अत्यधिक थकान महसुस हुने, कमजोरी आउने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, मांसपेशी दुख्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा बेहोससमेत हुन सक्ने जोखिम रहन्छ।

विभागले उच्च तापक्रमबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ। दिउँसोको अत्यधिक गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन तथा चर्को घामबाट बच्न सुझाव दिइएको छ।

त्यसैगरी हल्का तथा सुतीका कपडा लगाउन, बाहिर निस्कनुपरेमा टाउको छोप्ने, छाता वा टोपी प्रयोग गर्ने, शरीरमा पानीको मात्रा सन्तुलित राख्न पर्याप्त पानी पिउने तथा झोल पदार्थ सेवन गर्ने सुझाव पनि दिइएको छ। जुस, सर्बत, नरिवल पानी तथा अन्य तरल पदार्थ सेवन गर्न विभागले आग्रह गरेको छ।

स्वास्थ्यमा असहजता महसुस भएमा तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिन र जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्न पनि विभागले अनुरोध गरेको छ।

पछिल्ला केही दिनयता देशका विभिन्न तराई जिल्लामा तापक्रम निरन्तर बढ्दै गएको छ। वर्षा नहुँदा र गर्मी बढ्दै जाँदा तराई क्षेत्रमा तातो हावा तथा तातो लहरको प्रभाव झन् तीव्र हुने अनुमान गरिएको छ। मौसमविद्हरूले आगामी केही दिन विशेष सतर्कता अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेका छन्।