काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध भएको जानकारी दिएको छ। प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथ साउन १२ गतेदेखि नै पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा अरनिको राजमार्ग पनि पूर्ण रूपमा ठप्प भएको छ। दोलखाको लामासाँघु-रामेछाप सडक र रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्, यद्यपि दोलखामा वैकल्पिक बाटोमार्फत यातायात सञ्चालनको प्रयास गरिएको छ।

ADVERTISEMENT

कोशी प्रदेशतर्फ इलाममा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

बागमती प्रदेशकै काभ्रे र मकवानपुरमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको वि.पी. राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र मकवानपुरको कान्तिलोकपथ साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहने प्रहरीले जनाएको छ।

ADVERTISEMENT

गण्डकी प्रदेशको बाग्लुङमा कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा छ भने गोरखाको आरुघाट-गोरखा सडक खण्ड भने पूर्ण रूपमा सुचारु रहेको छ।

उता कर्णाली प्रदेशका रुकुम पश्चिम र जाजरकोटमा पनि बाढी र वर्षाका कारण सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। रुकुम पश्चिमको भेरी करिडोर र जाजरकोट-डोल्पा सडक खण्डमा यातायात ठप्प रहेको छ। वर्षा र प्राकृतिक प्रकोपका कारण सडकको अवस्था परिवर्तन भइरहने भएकाले यात्रामा निस्कनुअघि स्थानीय प्रहरी वा सम्बन्धित निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ।

1760671556_1513336673454759_7866675493077897450_n