काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडकको पछिल्लो अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार कास्कीको मादी गाउँपालिका–२ ज्याम्दीस्थित पोखरा–ताङतिङ सडकखण्ड गएरातिदेखि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरुद्ध बनेको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि गएरातिदेखि नै पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ। यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङमा रहेको घोराही–रुकुम शहीद मार्ग तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डुड्खोलास्थित सालझण्डी–ढोरपाटन सडकखण्ड पनि अवरुद्ध छन्।
मकवानपुरको थाहा नगरपालिका–८ स्यार्चेडाँडामा कान्तिलोकपथ गत शनिबारदेखि पहिरोका कारण बन्द छ। काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी (बीपी राजमार्ग) सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै जेठ २२ गतेदेखि नै सवारी आवागमन रोकिएको छ।
यसअघि अवरुद्ध भएको इलामको राजदुवाली क्षेत्रअन्तर्गत मेची राजमार्गमा भने वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम अझै कायम रहेकाले प्रहरीले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नुअघि सडकको अद्यावधिक अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।





