काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा दैनिक बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
त्यसैगरी, कान्ति लोकपथमा पनि अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी सञ्चालन ठप्प भएको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरोसहित ढुङ्गा–माटो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेपछि बिपी राजमार्गका थप खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।





