काठमाडौं । सुनसरीको देवानगन्जमा भएको साम्प्रदायिक हिंसाका कारण मुलुकको राजनीति नै तरंगित बनेको छ । चार दिनदेखिको घटनाका कारण पूर्वी नेपाल र मधेश प्रदेशसम्म यसको प्रभाव विस्तार भएको छ ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञासमेत तोडेर स्थानीय प्रदर्शनमा उत्रिन थालेपछि सरकारले नेपाली सेना परिचालन गरेको थियो । तर त्यसले पनि स्थिति सामान्य बन्न सकेन । देवानगन्जको कप्तानगन्जमा डिजेबाजा बजाउने विषयमा भएको विवादपछि झडप हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । जुन घटनाले सरकार नै विवादको घेरामा तानिएको छ ।

ADVERTISEMENT

यही तथ्यलाई मध्यनजर गर्दै सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बुधबार बिहान संसद्मा रहेका र नरहेका सबै दल सम्मिलित सर्वदलीय बैठक राखेका छन् । सिंहदरबारमा भएको बैठकमा सबै दलका शीर्ष नेता सहभागी छन् । तर प्रधानमन्त्री बालेन्द् शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी छैनन् ।

ADVERTISEMENT

पार्टी सभापति स्वयंले आह्वान गरेको बैठकमा प्रधानमन्त्री शाह उपस्थित हुनै पर्ने थियो । यदि सरकार गम्भीर भएको भए प्रधानमन्त्रीले नै सर्वदलीय बैठक आह्वान गर्नुपर्ने थियो । तर बालेनले दुवै काम नगरेपछि अहिले सर्वत्र आलोचना भइरहेको छ । प्रधानमन्त्रीले जिम्मेवार मन्त्रीसहित सबै राजनीतिक दलका नेतासँग सघन छलफल गर्नुपर्ने हो, तर त्यो भएन ।

बरु प्रधानमन्त्री बालेनले मंगलबार मध्यराति फेसबुकमा स्टाटस लेखेर आफ्नो कर्तव्य पूरा गरेको ठानेका छन् । उनले सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था आएको र समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुगेको बताएका छन् ।

‘प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु,’ उनले लेखेका छन्, ‘यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।’