काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक आज बुधबार बिहान बस्दै छ।

रास्वपाका अनुसार बैठक बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा आयोजना हुनेछ। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दलहरूलाई पनि आमन्त्रण गरिएको छ।

ADVERTISEMENT

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार सभापति लामिछानेले सम्बन्धित दलका नेताहरूलाई पत्राचार गर्नुका साथै व्यक्तिगत रूपमा फोन गरेर बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

देवानगञ्जको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक तहबाट साझा सन्देश र अपिल आवश्यक रहेको निष्कर्षसहित बैठक आयोजना गरिएको उनले बताए।

ADVERTISEMENT

यसैबीच, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत देवानगञ्ज घटनाप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।