काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तको सुनुवाइ प्रक्रिया सुरु भएको छ। समितिको सोमबार बसेको बैठकमा प्रस्तावित आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको कार्ययोजना प्रस्तुतिको कार्यसूची राखिएको थियो।

प्रस्तावित आयुक्तहरूविरुद्ध परेको उजुरीमाथिको प्रक्रिया पूरा भएपछि उनीहरूलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न समय दिइएको हो। बैठकमा प्रस्तावित आयुक्त गुरुप्रसाद वाग्लेले समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिएका थिए। प्रस्तावित आयुक्त डा. राजीव सुब्बाको सुनुवाइ भने केही समयपछि सुरु हुने जनाइएको छ।

ADVERTISEMENT

सांसदहरूले निर्वाचन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष बनाउने विषयमा प्रस्तावित आयुक्तहरूसँग प्रतिबद्धता माग गरेका छन्। उनीहरूले विद्यमान निर्वाचन कानुनमा आवश्यक संशोधन, विदेशमा रहेका नेपाली मतदाताको मतदान व्यवस्था तथा निर्वाचन व्यवस्थापन सुधारका विषयमा प्रश्न गरेका थिए।

ADVERTISEMENT

समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित आयुक्तहरूलाई नतिजामा आधारित कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका छन्।

यसअघि संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीसहित निर्वाचन आयुक्तका लागि गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।

ADVERTISEMENT

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइ भने बुधबार हुने तय गरिएको छ।